नेपाली कांग्रेसले शुक्रबार पार्टी स्थापना दिवस मनाउने भएको छ।
पार्टीको ७८ औं स्थापना दिवसमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा सानेपामा कार्यक्रम गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
कांग्रेसले 'श्रद्धा, सङ्कल्प र सम्मान' कार्यक्रम राखेको छ। कार्यक्रम दिउँसो साढे १ बजेदेखि सुरू हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
भारतको कलकत्तास्थित भवानीपुर खालसा हाइस्कुलमा कांग्रेसको पहिलो महाधिवेशन वि.सं. २००३ माघ १२ गतेदेखि १५ गतेसम्म भएको इतिहास छ।
त्यसअघि वि.सं. २००३ कात्तिक १५ गते बनारसमा बस्ने नेपालीलाई समेटेर देवीप्रसाद सापकोटाको संयोजकत्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो।
यसैको नाम परिवर्तन गरी वि.सं. २००३ माघ १२ गतेदेखि १५ गतेसम्म चलेको पहिलो महाधिवेशनले पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो।
यो अधिवेशनबाट ३३ वर्षकै उमेरमा बिपी कोइरालालाई कार्यवाहक सभापति र टंकप्रसाद आचार्यलाई मानार्थ सभापति चयन भएको थियो।