नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै नेताहरू आफू केन्द्रीय सदस्य रहेको वडामा जानुपर्ने बताएका छन्।
पार्टीले 'समुदायमा कांग्रेस' अभियान घोषणा गरेको बताउँदै उनले यही माघ १६ गते सबै नेता आफ्नो वडामा जानुपर्ने बताए।
कांग्रेस स्थापनाको ७८ औं वर्षका अवसरमा केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको अभियान सफल बनाउन आग्रह गरेका थिए।
‘भोलिबाट देशैभर समुदायमा कांग्रेस अभियान सुरू हुन्छ,’ महामन्त्री थापाले भने, ‘पार्टीबाट खटिएका साथीहरू आ-आफ्नो ठाउँमा जानुहुन्छ। माघ १६ गते सहिद दिवस छ। यसपटक सहिद दिवसका दिनमा कोही पनि साथीहरू काठमाडौंमा नेताका घरमा देखिनु भयो भने तपाईंहरू कार्यक्रममा जानु भएको रहेनछ भन्ने मान्छौं। त्यस दिन मुलुकभरका वडामा मात्रै कार्यक्रम हुन्छ।’
उक्त दिन जनताका कुरा सुन्ने उनले बताए। ‘केन्द्र र जिल्लामा कार्यक्रम हुन्न,’ उनले भने, ‘जहाँ क्रियाशील सदस्य छ त्यही वडामा जानुपर्छ। त्यस दिन भाषण र आसनग्रहणको कार्यक्रम पनि हुन्न।’
यो पनि: वडामा केन्द्रित हुँदै कांग्रेस, आसनग्रहण र भाषणमा रोक