राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसका सन्दर्भमा मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रास्वपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन्।
न्यौपानेले पछिल्लो समय रास्वपाको गतिविधि चित्त नबुझेर निष्क्रिय बसेको र शुक्रबार आफूले कांग्रेस रोजेको बताए।
‘रास्वपाको कुनै एजेन्डा देखिनँ। पार्टीको भिजन पनि रहेनछ। आम नेपाली जनताले परिवर्तन खोजिरहेका छन्। त्यसको आकांक्षा पूरा गर्ने नेतृत्व पनि देखिनँ,’ उनले सेतोपाटीसँग भने, ‘म उद्योग वाणिज्य संघमा थिएँ। पार्टीका गतिविधिमा थिइनँ। तर, त्यहाँ पनि पुरानै पार्टीकै जस्तो गतिविधि देखियो। त्यसकारण रहनु उचित लागेन।’
रास्वपामा ठूलो किचलो रहेको र त्यहाँ अटाउन नसकिने निष्कर्ष निकालेर आफू बाहिरिएको उनले बताए।
कांग्रेसले सबैलाई समेटेर लैजान सक्ने र पुरानो पार्टी भएकाले आफूले रोजेको उनको भनाइ छ।
न्यौपाने मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।
रास्वपाका नेताहरूले दिएका जानकारी अनुसार न्यौपानेको कार्यशैलीलाई लिएर सुरूदेखि नै विवाद थियो। न्यौपानेले आफूखुसी गरेको भन्दै कार्यसमितिका सदस्यहरू असन्तुष्ट बनेको गुनासो आएपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको थियो।
उनलाई हटाएर भरत पराजुलीलाई अध्यक्ष तोकिएको थियो। त्यसपछि उनी निष्क्रिय थिए।