राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राप्रपा नबुझेको र बुझेर अगाडि बढ्न चाहेको बताएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले 'मिश्रले राप्रपा नै बुझ्नु भएको छैन' भन्ने अभिव्यक्ति दिएपछि यसबारे पत्रकारहरूले राखेको प्रश्नमा जवाफ दिँदै मिश्रले राप्रपा नबुझेकै स्वीकार गरेका छन्।
यो पनि: रवीन्द्र मिश्रले राप्रपा नै बुझ्नु भएको छैन: लिङ्देन
‘अनुभवले दिने परिपक्कता भनेको अनुभवले नै दिन्छ, सैद्धान्तिक ज्ञानले मात्र दिँदैन,’ शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले भने, ‘राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, उहाँलाई राप्रपा राम्रोसँग थाहा छैन भन्नु त्यो अत्यन्त स्वभाविक हो।’
राप्रपामा जोडिएको छोटो अवधिमै आफूले देशैभरि भ्रमण गरेको र राप्रपाका कार्यकर्ताहरूसँग कुरा गरेको उनको भनाइ छ।
‘मैले व्यापक रूपमा देशैभरि भ्रमण गरेको छु। राप्रपाका सामान्य सदस्य, स्थानीय नेताहरू र वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने, राप्रपा बुझाउने कुरामा प्रशस्त सहयोग गरिराख्नु भएको छ,’ मिश्रले भने, ‘अध्यक्ष (राजेन्द्र लिङ्देन), अन्य वरिष्ठ नेताहरू, जिल्ला-जिल्लाका नेता र कार्यकर्ताले सहयोग गर्नुभएको छ। त्यसो हुनाले हो त मैले बुझेको छैन।’
उनले दुई दशकभन्दा बढी पत्रकारिता अध्ययन गरे पनि नबुझेको प्रसंग उल्लेख गर्दै राजनीति गरेको जम्मा ६ वर्ष भएको र राप्रपामा जोडिएको १५ महिना भएको बताए।
‘मैले पत्रकारिता दुई दशकभन्दा बढी अध्ययन गर्दा त मैले पत्रकारिता बुझेको थिइनँ। लक्ष्मीप्रसाद देवकोटालाई उद्धृत गर्ने हो भने- पहिले बुझ्न कठिन। झन् बुझ्यो झन् कठिन। झन् झन् बुझ्यो झन् झन् कठिन भनेर बुझाइ कहिल्यै सकिँदैन भनेर कवितामा लेखेका छन्,’ उनले भने।
आफूले राप्रपा नबुझ्नु स्वभाविक भएको उनको भनाइ छ।
‘मैले त्यत्रो अभ्यास गरेको पत्रकारिता बुझेको छैन भने अहिले भर्खर राजनीति सुरू गरेको ६ वर्ष भयो। राप्रपामा जोडिएको १५ महिना भयो। मैले नबुझ्नु स्वभाविक हो। मलाई सबैले सहयोग गरिदिऊँ, म बुझ्न चाहन्छु। म बुझेर अगाडि बढ्न चाहन्छु,’ मिश्रले भने।
फरक प्रसंगमा उनले राप्रपा पुष्पकमल दाहाल 'प्रचण्ड' को पुच्छर नभएको बताए।
‘राप्रपा सरकारमा जाने कुरामा व्यक्तिगत रूपमा मेरो विमति छ भनेर भनिसकेको छु। पार्टीमा बहुमतले निर्णय गरेपछि स्वीकार्नुपर्छ। हामीले प्रचण्डपथमा हिँड्ने भनेर निर्णय गरेको होइन,’ उनले भने।
यसपछि मिश्रसमेत रहेको राप्रपा निर्देशन समितिले कोशी सभामुखबाट राप्रपा फिर्ता हुन दिएको निर्देशन र यसबारे केन्द्रीय समिति र कार्यसम्पादनमा छलफल हुनुपर्ने निर्देशनका विषयमा पत्रकारहरूले मिश्रलाई प्रश्न सोधेका थिए।
कोशीमा गत पुस २४ गते राप्रपाका तत्कालीन सांसद अम्बरबहादुर विष्ट सभामुख निर्वाचित भएका थिए। सभामुख निर्वाचन प्रक्रिया चलिरहँदा प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेका थिए।
निर्देशन समितिले कोशी सभामुखबाट फिर्ता हुन निर्देशन जारी गरेपछि उक्त विषयलाई लिएर राप्रपामा मतभेद उत्पन्न भइरहेका छन्। अध्यक्ष लिङ्देनले सार्वजनिक रूपमै निर्देशन समितिको निर्देशनबारे पार्टी बैठकमा छलफल नहुने बताएका छन्।
तर मिश्रले यसबारे अब बस्ने कार्यसम्पादन र केन्द्रीय समितिमा छलफल गरी निर्क्यौल निकाल्ने बताएका छन्।
‘पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकमा बस्नेवाला छ। त्यसमा छलफल भएर निर्क्यौल हुन्छ,’ उनले भने।
राप्रपा सरकारमा जाने विषय र सभामुखजस्ता पद लिने विषयमा आफूले व्यक्तिगत रूपमा त्यसो गर्न हुन्न भनेको उनले बताए। सुझाव मात्र दिन सक्ने लोहनी नेतृत्वको निर्देशन समितिले गल्ती सच्याउनुपर्ने अध्यक्ष लिङ्देनले बताउँदै आएका छन्।
अध्यक्ष लिङ्देनले गल्ती सच्याउनुपर्छ भनेका विषयमा सोधिएको प्रश्नमा वरिष्ठ उपाध्यक्ष मिश्रले जवाफ नै दिएका थिएनन्। उनले यस विषयमा केन्द्रीय समिति र कार्यसम्पादनमा छलफल गरी निर्क्यौल हुन्छ मात्रै भनिरहे।
यो पनि- राप्रपाभित्र 'कडा र नरम राजावादी' बीच बढ्दो टकराब!