नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी छ।
आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल केन्द्रित भएको सचिवालय सदस्य तुलबहादुर गुरूङले जानकारी दिए।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा विधानको मस्यौदामाथि समूह छदफल जारी रहेको उनले बताए।
परिषद् बैठकमा करिब एक हजार जना प्रतिनिधि छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।
दसवटा समूह बनाएर जलफल जारी रहेको र आजै साँझ बैठक सकिने उनले जानकारी दिए।
‘मूलतः हामी विधान संशोधनको प्रस्तावमाथि छलफल गरिरहेका छौं। दसवटा समूह बनाएर अहिले छलफल भइरहेको। आजै ११ बजेबाट सबै टोली नेताले समूहको सुझाव प्रस्तुत गर्नुहुनेछ,’ उनले भने, ‘त्यसलाई समावेश गरेर आजै साँझ निष्कर्ष सुनाउनेछौं।’
समूहबाट आएका सुझाव टिपोट गर्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा कमिटी बनाएको पनि उनले बताए।
एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ।
पार्टीले विधानको मस्यौदा तयार पार्न पार्टी उपाध्यक्ष भुसालको नेतृत्वमा समिति पनि बनाएको थियो। महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले आ—आफ्ना धारणा राखेका थिए।
सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताएका थिए। त्यस्तै पार्टीको कार्यकारी कमिटीमा उमेरहदको व्यवस्था गर्नुनपर्ने, युवादेखि वृद्धसम्मलाई प्रतिशत छुट्टयाएर प्रतिनिधित्व गराइनुपर्ने राय राखेका थिए। त्यस्तै केन्द्रीय कमिटी र आयोगका सदस्यहरू भूगोलबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने धारणा पनि सचिवालय सदस्यहरूले राखेका थिए।
एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरूलाई ११ वटा प्रश्न नै बनाएर विधानमाथि सुझाव मागेको थियो।
प्रश्नावलीमा उमेरहद राख्नुपर्ने÷नपर्ने, महाधिवेशनमा केन्द्री कमिटी र केन्द्रीय आयोग सदस्यहरू स्वतः प्रतिनिधि हुने कि, निर्वाचित भएर आउनुपर्ने? केन्द्रीय कमिटीको आकार कस्तो हुने? आदि प्रश्नमा सुझाव मागेको थियो।
एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। त्यसैका लागि विधानमाथि छलफल गराइरहेको हो।