स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।
सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको बताएका हुन्।
मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा भएको कमजोरी सुधारेर अघि बढ्न आवश्यक रहेको बताए। जनसंख्या बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी पनि बढ्नुपर्नेमा त्यस्तो नभएको उनले बताए।
स्वास्थ्यकर्मीहरूलाई उचित सेवा सुविधा दिएर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेदेखि स्वास्थ्यक्षेत्रको अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने मन्त्री बस्नेतले बताए।
‘जनसंख्या बढ्दै जाँदा स्वास्थ्यकर्मी पनि बढ्न जरुरी छ। तर सेवासुविधा कम भएर यही भएका स्वास्थ्यकर्मी पनि पलायन हुने अवस्था छ । यहीँ भएकाहरूले बालबच्चाहरु राम्रो शिक्षादिक्षा र घरखर्च चलाउन नसक्ने अवस्था छ,’ मन्त्री बस्नेतले भने।
त्यसरी पलायन हुँदा नेपालमै आधारभूत स्वास्थ्य सेवा प्रवाहमा समस्या निम्तने उनले बताए। त्यसलाई रोक्नका लागि गम्भीर भएर नीतिहरू बनाउनुपर्ने उनको भनाइ छ। (न्युज एजेन्सी नेपालबाट)