नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन्।
बिरामी भएर घरमै स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब १० बजेतिर अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन्।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतले दिएको जानकारीअनुसार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार साँझ नै देउवा आउन लागेको सन्देश पठाएका थिए।
‘बिहान ९ बजे आउने भनेर खबर आएको थियो, स्वास्थ्य लाभको कामना गर्न आउन लागेको बताउनुभएको थियो,’ गौतमले सेतोपाटीसँग भने।
राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल भेट्न कोटेश्वर पुगेका थिए।
अध्यक्ष नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक रहेको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिएका छन्।
आजै एकीकृत समाजवादीको सचिवालय बैठक पनि बस्दैछ। बिहान ११ बजे सचिवालय बैठक बोलाइएको महासचिव भूसालले बताए।