नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे सबै दलहरूसँग छलफल भइरहेको प्रतिक्रिया दिएका छन्।
सभापति शेरबहादुर देउवासहित बुधबार बिहान कोटेश्वर पुगेर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका प्रमुख सचेतक लेखकले विकसित राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल गरिएको जानकारी दिए।
‘अहिले विकसित राजनीतिक घटनाक्रम बारेमा केन्द्रित रहेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छलफल गरिएको हो,’ लेखकले पत्रकारहरूसँग भने, ‘छलफल सकारात्मक छ, छलफललाई हामी निरन्तरता दिन्छौं।’
छलफलमा सभापति देउवाले सहकार्यलाई निरन्तरता दिन अध्यक्ष नेपाललाई आग्रह गरेका थिए।
कांग्रेसले एमाले अध्यक्ष ओलीलगायतलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेको हो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै लेखकले भने, ‘हामीले आधिकारिक धारणा कार्यसम्पादन समिति बैठकबाट राखिसकेका छौं। अहिलेको घटनाक्रमबारे सबै दलहरूसँग छलफल भइराखेको छ।’
सभापति देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको पार्टी कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारले 'धेरै लामो यात्रा तय नगर्ने' निष्कर्ष निकालेको थियो।
यो पनि:
कांग्रेसको निष्कर्ष- गठबन्धन तोड्न 'प्रचण्डले बनाएका कथा' मा अल्झन हुन्न
प्रचण्डजीलाई एमालेको काँधबाट झार्नतिर हामी लाग्दैनौं: उपसभापति गुरूङ
भेटुम् भन्दै ओलीले दिनमै दुईपल्ट फोन गर्थे, भेटिनँ, प्रचण्ड भित्रभित्रै भेट्दा रहेछन्: देउवा