नेकपा (माओवादी केन्द्र) ले यसअघि मन्त्री रहेका तीन जनालाई फेरि मन्त्रीमा निरन्तरता दिने भएको छ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको माओवादीले रेखा शर्मा र शक्तिबहादुर बस्नेतलाई पनि मन्त्री बनाउने भएको हो।
माओवादीका एक पदाधिकारीले तीन जनालाई फेरि मन्त्रीमा दोहोर्याउन लागिएको जानकारी दिए।
यसअघि श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री थिए। शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री थिइन् भने बस्नेत ऊर्जामन्त्री थिए। शर्मा सञ्चार र बस्नेत ऊर्जा मन्त्री नै हुने माओवादीका ती नेताले बताए।
यसका साथै माओवादीबाट प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् भने हितबहादुर तामाङ पनि मन्त्री छन्। तामाङले गत सोमबार नै मन्त्रीको शपथ लिएका थिए। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको माओवादीले जनाएको छ।
उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने टुंगो लागेको छ।