नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले केही मान्छेको सत्ता स्वार्थका लागि सरकार बनाउन गिराउने खेल भइरहेको बताएका छन्।
बुधबार काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले बिशुद्ध केही मान्छेको सत्ता स्वार्थका लागि सरकार बनाउने गिराउने खेलले व्यवस्थाप्रति नै वितृष्णा बढाउने बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जोगाउनका लागि साथ दिइरहेका मानिसहरूबाटै यसमा खतरा उत्पन्न भएको बताए।
‘जसलाई भर्खरै जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्र जसलाई हुर्काउने भनेर जिम्मा दिइएको छ उसैले काखमा राखेर रेट्न थालिसकेपछि यिनको हातबाट यो व्यवस्था सुरक्षित हुन्छ?,’ उनले भने।
अध्यक्ष भट्टराई ती व्यक्ति र त्यस्ता पार्टीहरूको पछि नलाग्ने बताए।
‘हाम्रो पार्टी यिनिहरूको पुच्छर हुन जन्मिएको पार्टी होइन। यिनिहरू भन्दा अगाडि बढेको पार्टी हो। कतिपय अवस्थामा सहकार्य गर्ने कार्यगत एकता गर्ने एउटा पाटो हो तर,’ उनले भने।
भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद नभएसम्म अस्थिरता कायमै रहने बताए।