बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
बुधबार नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले राजीनामा दिए।
यस्तै, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी र वन तथा वातावरण मन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्त राजीनामा दिएका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला मन्त्री लामा र खानेपानी मन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त भएका थिए। अन्य चार जना गत जेठ ७ गते नियुक्त भएका थिए।
बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीसहित पाँच दलको समर्थनमा गत वर्ष पुस ५ गते नेकपा (माओवादी केन्द्र) का नेता जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो। सत्तासाझेदार दलहरू एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा जम्कट्टेलले सरकार पुनर्गठन गरेका थिए।
संंघीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार एक पटक पुनर्गठन भइसकेको छ।
बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ। नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा एमाले २७ सदस्य सहित दोस्रो ठूलो दल हो।
प्रदेशमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्।
नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ। एक सय १० सदस्यीय बागमती प्रदेश सभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन।