नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बुधबार शपथ लिएपछि कार्यभार सम्हालेका छन्।
कार्यभार सम्हाल्दै उनले अहिले अर्थतन्त्र कम चलायमान भएको र आर्थिक समृद्धिमा प्रधानमन्त्रीको प्राथमिकता रहेको बताए।
त्यस्तै मनाेबल बढाउने चुनाैती रहेको बताउँदै उनले भने, 'म पहिले अर्थमन्त्री हुँदा पनि धेरै समस्या थियो। अहिले पनि छ। तर म विज्ञ टिमको सहयोगमा काम गर्छु। पहिलेको नेतृत्वको कमजोरी खोज्दिनँ। असल अभ्यासलाई निरन्तरता दिन्छु।'
शपथपछि कार्यभार सकेलगत्तै मन्त्री पुनले निम्न निर्णयहरू गरेका छन्।
- नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र नेपालमा जलवायु परिवर्तनको असर सम्बन्धी विषयमा विश्वव्यापी ध्यानकर्षण गराउने।
- कोप २८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा जलवायुको परिवर्तनको असर र हिमाल र पर्वतीय मुद्दा (माउन्टेन एजेन्डा) सम्बन्धी विषयमा कोपमा छलफल तथा पहिलोपटक हिमाल र पर्वतीय मुद्दाको कोप २८ को सम्मेलनमा सम्बोधन गर्ने।
- कोप सम्मेलनमा प्रधानमन्त्रीबाट जलवायु वित्तमा अधिकारमुखी अवधारणासहित पहुँच स्थापित गर्ने र जलवायु न्याय सम्बन्धी विषयको उठान गर्ने।
- नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्बोधन गर्ने र आयोजना क्रियाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्तबीच ठूलो खाडल छ। नेपालले हालसम्म न्यून मात्र जलवायु वित्त प्राप्त गर्न सकेको छ। त्यसैले जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरूमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रियस्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने।
- जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलीयतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने।
- हरित जलवायु कोष (जिसिएफ) को 'कन्ट्री प्रोग्राम' अन्तर्गत पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने।
- हरित जलवायु कोषमार्फत सञ्चालन हुने आयोजनाहरूलाई दिगो र पूर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायहरूलाई मार्गनिर्देश गर्ने।
- जलवायु कोषहरूबाट प्राप्त हुने स्रोत (अनुदान तथा सहुलियतपूर्ण सहायता) लाई मिलाई गरी सरकारी तथा निजी क्षेत्रहरूलाई समेत परिचालन गर्ने।
-1709737835.jpg)

-1709737805.jpg)