नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन्।
नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन्।
उनले पहिलो निर्णयमा हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा ब्यान्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी हुन्।
पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले एक वर्षको बीचमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनः संरचनामा ध्यान केन्द्रित गर्ने बताइन्।
‘अब हामीलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन,’ मन्त्री शर्माले भनिन्, ‘म सम्पूर्ण जिम्मेवार अधिकारी र निकायहरूलाई यो अवसरमा विशेष निर्देशन दिन चाहन्छु।’
यसअघि शर्माले २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।