शिक्षामन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी छन्।
बुधबार मन्त्रालयमा पदबहाली गर्दै उनले विश्वविद्यालयमा राजनीतिक नेतृत्व बस्ने प्रावधान हटाएर प्राज्ञिक तथा विज्ञ व्यक्तित्वलाई राख्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी हुन्।
'नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानुन अन्तर्गत स्थापना तथा सञ्चालनमा रहेको मौजुदा १३ वटा विश्वविद्यालय मध्ये ११ वटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गर्दै विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक भएकोले मौजुदा विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा सोही बमोजिम सुधार गर्न आवश्यक व्यवस्थाको लागि प्रारम्भिक कामकारबाही अगाडि बढाउनेछ,' निर्णय सुनाउँदै उनले भनिन्।
यसअघि पनि सुमनाले शिक्षा समिति र संसदमा पनि विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र शिक्षा मन्त्री सहकुलपति हुँदा राजनीतिक हस्तक्षेप बढेको भन्दै त्यसलाई हटाउनुपर्ने माग राख्दै आएकी थिइन्।
त्यसैलाई नै निरन्तरता दिँदै आफूले निर्णय गरेको उनले बताइन्।
'सुरूदेखि नै मेरो प्राथमिकतामा रहेको उच्च शिक्षा, शिक्षा क्षेत्रमा जुन अति राजनीतिकरण हुँदै गएको छ। त्यसलाई हटाउन जुन प्रावधानहरू छन्, जसमा पदेन मान्छेहरू नेतृत्वमा हुन्छन्, त्यसलाई हटाउन अब केके प्रक्रिया थाल्नुपर्छ, त्यो प्रक्रिया थालौं भनेर निर्णय गरेकी छु,' उनले भनिन्।