इलाम निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्लाका सरोकारवालाको अन्तरक्रियाले विभिन्न निर्णय गरेको छ।
जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको अन्तरक्रियामा निर्वाचनमा सहयोग र समन्वयसम्बन्धी निर्णय गरिएको हो। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार फागुन २८ गतेदेखि चैत ५ सम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरूबाट जिल्लाका आफू मातहत सबै तहमा आवश्यक सहयोग, समन्वय र प्रचारप्रसारलगायत कार्यमा आवश्यक सहजीकरण गर्न निर्देशन दिने निर्णय पनि भएको कार्यालयले जनाएको छ। आयोगको परिपत्रअनुसार उपनिर्वाचनका लागि सहयोग, समन्वय र सहजीकरणका लागि जिल्लाका ८१ वटै वडा सचिवलाई निर्देशन दिने निर्णय पनि भएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यमा भएको अन्तक्र्रियामा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकारलगायत सहभागाी थिए। उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।
आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ भने फागुन २४ देखि ३० सम्मको म्याद दिई राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ। चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ। चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ।