राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूलाई बधाई-शुभकामना दिन अनावश्यक रूपमा भेटघाट, भीडभाड नगर्न/नगराउन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ।
रास्वपाबाट बुधबार पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए।
त्यस्तै, उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए। सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका थिए।
‘यस अवसरमा पार्टीका नेतागण, सदस्य र शुभेच्छुकमा स्वयम् उपस्थित भएर नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको अभ्यास हुँदै आएको छ। तर यस अभ्यासले काम गरेर देखाउनुपर्ने महत्त्वपूर्ण समय बधाई, शुभकामना तथा भेटघाटका नाममा बर्बाद भइरहेको हुन्छ भन्नेतर्फ सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरूले ध्यान दिनुपर्दछ,’ महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पार्टीका नेताहरूले मन्त्रालयको जिम्मेवारी पाउनु खुसीको कुरा भएसँगै चुनौती पनि थपिएको रास्वपाले बताएको छ।
‘तसर्थ जनसेवा प्रवाहको यस परीक्षामा हामी खरो उत्रनुपर्नेछ। उल्लिखित पक्षहरूप्रति संवेदनशील तथा जनताप्रतिको जिम्मेवारीप्रति गम्भीर भई हाम्रा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा भेटघाट, भीडभाड नगर्न नगराउन पार्टी सदस्यहरूमा निर्देशन दिइएको छ,’ रास्वपाले भनेको छ, ‘बधाईका नाममा मन्त्रीलाई मन्त्रालयमा भेटी फोटो खिच्ने, बधाई तथा शुभकामना दिने प्रचलनले मन्त्रीहरूको कार्य समय व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्नुका साथै बहुमूल्य समयको नोक्सानी समेत गरिरहेको हुन्छ जो सिङ्गो देश र जनतामाथि घात हो।’
रास्वपाले भिभिआइपी वा भिआइपी प्रथाको अन्त्य गर्नुपर्ने बताएको छ।
‘अतः उल्लिखित पक्षहरूलाई मनन गरी बधाई तथा शुभकामना दिनकै लागि मन्त्रीहरूलाई भेट्ने, यो वा त्यो बहानामा मन्त्रीहरूलाई अनावश्यक रूपमा भेटघाट नगर्न नगराउन सबैमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालय वा मन्त्रीका लागि केही सुझाव, सन्देश भए लिखित सन्देश पठाउन पनि रास्वपाले भनेको छ।