नक्कली कागजात पेश गरी नागरिकता दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरूद्ध जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
‘उहाँविरूद्ध जाहेरी केही समयअघि आएको थियो हामीले आज दर्ता गरेका छौं,’ उनले भने।
लियाखत अलिले लिखत सम्बन्धी र नागरिकता सम्बन्धी कसुरमा जाहेरी दिएको डिएसपी थापाले बताए।
एक किशोरीलाई मेयर सिंहले नागरिकता दिलाएको आरोप छ। यस सम्बन्धी जिल्ला प्रशासन कार्यालय पर्सामा समेत उजुरी परेको थियो।
झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध जाहेरी परेको हो।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कात्तिक २० गते जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो। २०७५ साउन १३ गते पर्सा प्रशासनबाट रूविनाको नागरिकता जारी भएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिएको थियो।