सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश तथा न्यायपरिषद् सदस्य ईश्वर खतिवडाले अवकाश पाएका हुन्।
६५ वर्षको उमेर हदका कारण उनले अवकाश पाएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।
झण्डै ९ वर्ष पुनरावेदन अदालतको न्यायाधीश र २ वर्ष मुख्य न्यायाधीश भएका उनलाई २०७३ सालमा सर्वोच्च अदालत ल्याइएको थियो। उनी २०७३ सालको साउनदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कार्यरत थिए।
२०३९ सालमा सरकारी वकिलबाट सेवा प्रवेश गरेका उनी २०४९ सालमा जिल्ला न्यायाधीश भएका थिए।
झण्डै ४१ वर्ष न्याय सेवामा बिताएका उनी कमै विवादमा परेका छन्। उनी अब्बल, कम विवादित र निडर छवि भएका न्यायाधीशको रूपमा चर्चामा छन्।
उनले सर्वोच्च अदालतमा आएपछि धेरै चर्चित मुद्दामा फैसला गर्न पाएका छन्।
सर्वोच्च अदालतमा आएपछि उनले गरेको पहिलो चर्चित फैसला हो- लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिएको नियुक्ति बदर।
झण्डै ६ वर्षअघि प्रचण्ड सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्ति विरूद्धको रिटमा फैसला गर्ने न्यायाधीशको टिममा पनि उनी थिए।
उक्त फैसलालाई लिएर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाअभियोग लागेको थियो। महाअभियोगविरूद्ध परेको रिटमा फैसला गर्ने इजलासमा पनि खतिवडा थिए।
पछिल्लोपटक उनी सहितको इजलासले योगेश ढकाल रिगललाई उन्मुक्ति दिने मन्त्रिपरिषदको निर्णय उल्ट्याएर सर्वसाधारणको तारिफ पाएको थियो। आधा सजाय भुक्तान गरेका रिगलले राजनीतिक पहुँचका कारण संविधान दिवसको दिन बाँकी कैद मिनाहा पाएको भन्दै विरोध भएको थियो। त्यस्तो निर्णय खतिवडा सहितको इजलासले उल्ट्याइदिएर उनलाई फेरि जेल पठाएको थियो।
त्यसअघि कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा उनले फैसला गरेका थिए। उक्त फैसलामा सभामुखको निष्पक्ष भूमिकाको व्याख्या गरेका छन्।
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने निर्णय, केपी ओलीले गरेको दोस्रो पटक प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला, अध्यादेश ल्याउने सरकारी निर्णय उल्ट्याउने निर्णय गर्ने इजलासमा उनी थिए।
बरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले खतिवडालाई आफूले न्यायिक निष्ठा र इमानमा सम्झौता नगर्ने न्यायाधीशको रूपमा चिनेको बताउँछन्।
‘ईश्वर खतिवडा, अनिल सिन्हाजस्ता न्यायाधीशले सर्वोच्च अदालतको गरिमा बढाउने काम गरेर अवकाश पाए। न्यायालयमा उनीहरूको अभाव सधैं महसुस हुनेछ,’ उनले भने, ‘खतिवडाले फैसला गर्दा इमान, निष्पक्षतामा सम्झौता गरे भनेर मैले आजसम्म सुनेको छैन।’