सत्तारूढ दल नेकपा (एमाले) ले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ।
बिहीबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकपछि बोल्दै महासचिव शंकर पोखरेलले गठबन्धन र सरकारमा सामेल हुन अरू दललाई आग्रह गरेका हुन्।
‘हामी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पाँच राजनीतिक, दलहरू, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीहरू सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा सामेल भएका छौं। त्यसमा अन्य राजनीतिक दलहरूलाई पनि यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न आग्रह गरेका छौं,’ महासचिव पोखरेलले भने।
मुलुकमा विद्यमान संकट चिर्न सरकार सफल हुने पनि महासचिव पोखरेलले विश्वास छ।
‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ। यसलाई सकारात्मक दिशामा अगाडि बढाउने, जनतामा आशा र विश्वास जगाउने, मुलुकको राजनीतिक स्थायीत्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेका तर्फबाट हामीले सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा हामी छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय स्वाभिमान र हित उँचो बनाउने, विकास समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ, अहिलेको गठबन्धनले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता छ।’
शुक्रबार बसेको सचिवालय बैठकले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको छ। बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको हो।
एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्।
‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछौं। त्यही सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरेका थियौं,’ पोखरेलले भने, ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।’
एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय सातौं केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।
भव्य समारोह आयोजना गरेर पार्टी स्थापना दिवस मनाउने निर्णय भएको पनि पोखरेलले बताए।