नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई निवासमा बोलाएर निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले बिहीबार बालकोटस्थित निवासमा एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई बोलाएर आफ्नो अनुभवसमेत सुनाएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।
‘अध्यक्षज्यूले आफ्नो अनुभव सुनाउनुभएको थियो। सुझाव दिने क्रममा विभिन्न ढंगले प्रस्ताव पनि आउन सक्छन्, त्यसबाट सजग हुँदै परिणाम देखिने गरी काम गर्न भन्नुभएको हो,’ मन्त्री गिरीले सेतोपाटीसँग भने।
अध्यक्ष ओलीले आफूले काम गर्दाका अनुभवसहित कार्यसम्पादनको तौरतरिकाबारे प्रशिक्षणमूलक ढंगले सुझाव दिएको उनले बताए।
मन्त्रिपरिषदमा एमालेका तर्फबाट केही नयाँ अनुहार भएकाले बुझेर कार्यसम्पादन गर्न सुझाव दिएको उनले बताए।
‘अध्यक्षज्यूको अनुभवसहितको सुझावले धेरै हिसाबले महत्त्वपूर्ण थियो। उहाँले पार्टीका नीति, सिद्धान्त, उद्देश्यअनुरूप परिणाम देखिने गरी काम गर्न सुझाव दिनुभएको छ। मैले यसलाई फलदायीरूपमा लिएको छु,’ उनले भने।
नेकपा (एमाले) का तर्फबाट मौजुदा मन्त्रिपरिषदमा उपप्रधानसहित आठ जना मन्त्रीहरू छन्। रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन्। राजेन्द्रकुमार राई, खानेपानी मन्त्री छन्। पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री रहेका छन्। बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।
भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छिन्। दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेकी छन् भने रक्षामन्त्रीमा हरि उप्रेती र कृषिमन्त्री ज्वालाकुमारी साह छिन्।
एमालेले अधिकारी बाहेक सबै पुराना अनुहार मन्त्रिपरिषद्मा पठाएको हो।
कपिलवस्तु—१ बाट निर्वाचित अधिकारी पहिलो पटक मन्त्री बनेका हुन्। महासेठ अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारमन्त्री बनेका थिए।
बाँकी २०७९ पुस १० गते एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा मन्त्री बनेका थिए।