नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार उठाउनेबारे छलफल गरेको छ।
शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व-पदाधिकारी बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
उम्मेदवारी दिने टुंगो लागिसकेको भएपनि कसलाई उम्मेदवार उठाउने भन्ने टुंगो लाग्न बाँकी छ। राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेसले अन्य दलसँग पनि सहयोग लिनेबारे छलफल भएको थियो।
यसअघि राष्ट्रिय सभामा निर्वाचित सांसद कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउनेबारे चर्चा हुँदै आएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा कांग्रेसलाई छाडेर नेकपा एमालेको साथ लिएसँगै कसलाई उम्मेदवारमा उठाउने भन्नेबारे छलफल भएको हो।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष आफूले नै पाउनुपर्ने दाबी गर्दै आएको थियो।