सुर्खेतको वीरेन्द्रनगरमा कृष्णप्रसाद भट्टराई स्मृति भवन शिलान्यास गरिएको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली प्रदेश समितिले निर्माण गर्न लागेको भट्टराई स्मृति भवन शनिबार शिलान्यास गरेका हुन्।
सो अवसरमा सन्त नेता भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने खड्काले बताए। भट्टराईको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने उनको भनाइ थियो।
‘सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवन पद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ,’ उनले भने।
उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेता भट्टराईकै शिक्षा दीक्षामा जोडिन पाएकोमा खुसी व्यक्त गरेका थिए।
‘उहाँकै नाममा भवन निर्माण सुरुवात भएको छ। कर्णालीको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ,’ उपसभापति खड्काले भने।