प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मिति केही दिन सार्न प्रस्ताव गरेको छ।
राष्ट्रिय सभामा कांग्रेस दलका नेता कृष्णप्रसाद सिटौलाले सर्वदलीय बैठकमा राष्ट्रिय सभाको चुनाव सार्न प्रस्ताव गरेका हुन्।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।
'माननीयज्यूहरुसँग राम्रोसँग परिचय पनि हुन पाएको छैन', सिटौलाले बैठकमा भनेका थिए, 'हाम्रो अनुरोध छ, यो निर्वाचन केही दिन सारौँ।'
सिटौलाले नयाँ गठबन्धन बनिसकेकाले कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको अवस्थामा केही दिन अध्यक्षको चुनाव सार्दैमा फरक नपर्ने बताएका थिए।
'केही दिनको कुरा हो, हामी सबै नयाँ पनि छौँ, हामी प्रतिपक्षमै बस्ने हो,' उनले भनेका थिए।
सिटौलाले निर्वाचन सार्न प्रस्ताव गरे पनि अन्य दलका नेताहरुले भने निर्धारित समयमै अध्यक्षको निर्वाचन गर्नुपर्ने बताए।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मिति घोषणा हुँदैछ।
राष्ट्रिय सभामा १७ सांसदसहित माओवादी सबैभन्दा ठूलो दल छ।
कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।
सत्ता गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीले र उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने समझदारी बनेको नेताहरूले दाबी गरेका थिए।
कांग्रेसले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक गरेर अन्य दलहरूसँग छलफल गरेर राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो।