सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन सत्ता गठबन्धन दलहरूबीच छलफल भएको छ।
आइतबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा न्यूनतम कार्यक्रम 'छोटोमीठो बनाउने' बारेमा कुरा भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।
‘न्यूनतम साझा कार्यक्रम भनेपछि नामजस्तै न्यून कुराहरू मात्रै समावेश गर्ने भन्ने सहमति भयो,’ उनले भने, ‘पहिलेजस्तो ३०/४० पेजको पुस्तिका यसपटक नबनाउने भयौं, आज पहिलो बैठक भएकाले सैद्धान्तिक कुरा गरियो।’
उनले सकेसम्म छिटो न्यूनतम साझा कार्यक्रम बनाउने र सो कार्यक्रम गठबन्धनका बीचमा भएको ८ बुँदे राजनीतिक सहमतिमा आधारित हुने बताए। सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन संयन्त्र गठन गरेका थिए।
संयन्त्रमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल छन्।