राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुसार सुशासन, सेवा सुविधा सरल, सहज र प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन्।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको आइतबार उदघाटन गर्दै उनले संविधानको भावना तथा संघीयताको मर्मअनुसार हुने गरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी बनाउनुपर्ने बताए।
उनले नागरिकले अनुभूत गर्न सक्ने गरी काम गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय तह दत्तचित्त हुनुपर्नेमा जोड दिएका छन्।
उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नतिर लाग्नुपर्ने बताए।
‘कृषि, पर्यटन र ऊर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरिब, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरिएको पनि बताएका थिए।