बेलायतका विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्।
आइतबार अर्थमन्त्री वर्षमान पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मिलरले आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। भेटमा नेपालका लागि बेलायती राजदूत रब फेनसहितका अधिकारी सहभागी थिए।
भेटमा बेनरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धीमुलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताएका छन्।
लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता काम पूरा गर्न उनले आग्रह गरेका छन्।
मन्त्री पुनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सबै कामका लागि तयार रहेको जवाफ दिए। त्यसका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत सुधारका काम अघि बढाइसकेको मन्त्री पुनले उल्लेख गरेका थिए।
निजी क्षेत्रको लगानी विस्तार र आर्थिक गतिविधि बढाउने तथा युवा लक्षित रोजगारीका कार्यक्रममा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो। मन्त्री पुनले नेपाल र बेलायतबीच दुई शताब्दी पुरानो मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउन वर्तमान सरकार लागी पर्ने प्रतिबद्धता जनाए।
भेटमा मिलरले नयाँ विकास साझेदारी कार्यक्रमअन्तर्गत बेलायत सरकारले दिने भनिएको ४ सय मिलियन पाउण्ड (करिब ६७ अर्ब रुपैयाँ) अनुदानसम्बन्धी सम्झौता कार्यान्यवन सुरू भइसकेको जानकारी मन्त्री पुनलाई दिएका थिए।
गत ९ फागुनमा नेपाल भ्रमणमा आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले बेलायत–नेपाल विकास पोर्टफोलियो उद्घाटन गर्दै उक्त घोषणा गरेका थिए। उक्त रकम जलवायु परिवर्तन अनुकूलन कार्यक्रम, हरित प्रवर्द्धन, उत्थानशील विकास, आर्थिक रूपान्तरण, सुशासन, समावेशीकरण, साना तथा मझौला उद्योगमा लगानी विस्तार तथा विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनसहित विभिन्न ८ क्षेत्रमा खर्च गर्ने सम्झौतामा छ।