नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको गठबन्धन आफूहरूले फुटाएको बताएका छन्।
मंगलबार संघीय संसदको ल्होत्से हलमा बसेको पार्टी संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले कहाँ चीनलाई जस दिइरहेको भन्दै कटाक्ष गरे।
‘हामीलाई सरकारमा जाने हतारोले होइन, तपाईंहरूलाई सम्झना होला- यही हलमा मैले हामीलाई सरकारमा जाने हतारो छैन भनेको थिएँ। तर देशको बर्बादी टुलुटुलु हेरेर बसिरहन सकिँदैन पनि भनेको थिएँ,’ उनले भने, ‘मैले यो पनि भनेको थिएँ- यो गठबन्धन भनेको खरानीको डल्लो हो, सुख्खा भए पनि फुट्छ, भिज्यो भने पनि फुट्छ। त्यसकारण यो फुट्ने गठबन्धन हो मैले भनेको थिएँ। तर गठबन्धनमा हुनेहरूको उन्माद थियो।’
उनले गठबन्धन द्रोणचार्यका छोरा अस्वथामा जस्तै चिरञ्जीवी रहेको घटक दलहरूले सोच्ने गरेको पनि बताए।
‘अमरत्व प्राप्त गरेकाहरूका कथा सुन्न पाइन्छ नि शास्त्रमा.. त्यस्तै गरेर,’ उनले भने, ‘यो खरानीको डल्लो अमर छ, यो खरानीको डल्लो तोडफोडै हुन नसक्ने खालको छ भन्ने उहाँहरूको दाबी थियो। देशका लागि त्यो खरानीको डल्लो फुट्नुपर्थ्यो। देशमा परिवर्तन आउनुपर्थ्यो, आयो।’
उनले यो परिवर्तन आफूहरूले गरेको, गराएको बताए।
‘कमसेकम यति जस त हामीलाई दिनुस्। कहाँ चीन पुर्याएको? यति सानो कामका लागि! चीनले बनाइदियो रे! चीन आयो रे! चीनले यो गर्यो, चीन घुस्यो रे! यो हामीले गरेको हो। कमसेकम यति जस त दिनूस्, यत्रो मिहिनेत गरेर बनाएको छ!,’ उनले भने।