प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसलाई चुनाव एक्लै लड्न र बहुमत ल्याउन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री दाहालले विगतको चुनावमा माओवादीले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सहयोग गरेको पनि बताए।
‘संविधानमाथि नै, गठबन्धनमाथि नै र अझ चार वर्ष बाँकी छँदाकै चुनाव एक्लै लडिन्छ। जसले एक नम्बर पार्टी बनाउन मद्दत गर्यो त्यसको मानमर्दन गर्ने गरी हामी एक्लै लड्छौं,’ कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले भने, ‘एकताबद्ध भएर लड्नुस्, बहुमत ल्याउनुस्। मेरो शुभकामना छ।’
उनले कांग्रेसलाई आफूले धोका नदिएको पनि बताए। बरू धोका दिएको भनेर नेकपा एमालेले भन्न मिल्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्रीका रूपमा आफूले सहमति, सहकार्यमा प्रतिबद्ध रहेको पनि बताए।
कांग्रेसले गत फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकबाट अबको चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको थियो।