प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछिल्लो एक वर्षमा कांग्रेसमा विचार समूहहरूबीच द्वन्द्वका कारण आफू आजित भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनेक्रममा कांग्रेसले आफूमाथि लगाएको विश्वासघातको आरोपबारे उनले जवाफ दिएका हुन्।
उनले कांग्रेसभित्र विचार समूहका कारण आफू आजित बनेको बताएका हुन्।
‘निरन्तर संघर्ष र नेपाली कांग्रेस भित्रका विचार समूहहरूले युद्ध विराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहनुभएको आज मैले महसुस गरेको छु,’ उनले भने, ‘पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको असरले म आजित थिएँ।’
उनले दोहोर्याएर भने, ‘पछिल्लो एक वर्षमा कांग्रेस भित्रका विचार समूहहरूबीचको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित थिएँ।’
तर आफूले गठबन्धन छाडेसँगै नेपाली कांग्रेसका दुई विचारबीच एकता भएको पनि उनले बताए।
‘तर आज मैले गठबन्धनमा गरेको परिवर्तनसँगै कांग्रेसभित्रको आन्तरिक एकत्व कारक बन्न पाएकोमा म खुसी छु। सायद मेरो कदमले कांग्रेसभित्र राम्रो एकता पैदा हुँदैछ,’ उनले भने, ‘म नेपाली कांग्रेसका साथीहरूलाई र सबैलाई विशेष रूपले भन्न चाहन्छु यो युद्धविराम तपाईंहरूका बीचमा भएको छ प्रचण्डका कारणले, यसलाई स्थायी बनाउनुहोला। यसलाई शान्तिमा बदल्नुहोला। नेपाली कांग्रेसलाई एकीकृत गर्ने संकल्पमा बदल्नुहोला म खुसी ने हुन्छु।’