नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ गठबन्धन आगामी निर्वाचनसम्म लैजानुपर्छ भन्ने पक्षमा वकालत गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रेस चौतारी नेपाल दाङले तुलसीपुरस्थित पार्टी कार्यालयमा बिहीबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनविरूद्ध गलत कुरा र प्रचारबाजी नगर्न तथा सकारात्मक कुराहरू गर्न आग्रह गरेका थिए।
नेता ज्ञवालीले बारम्बार सरकार परिवर्तन गरिरहने खेतीपाती गलत हुने र अहिलेका सचेत जनताले पनि दलहरूलाई माफ नगर्ने बताए।
‘अहिले बनेको यो गठबन्धन पनि भत्काउन खोजे त्यो नेपाली राजनीतिको एउटा ‘भद्दा मजाक’ मात्रै हुने छ,’ उनले भने, ‘त्यतातिर एमाले लाग्नु हुन्न र यो गठबन्धनलाई चुनावसम्म कायम राख्न लाग्नु पर्छ।’
यतिखेर नेपालको राजनीतिमा लडाइँ मुख्यगरी दुई विचारधाराबीच रहेको उनले बताए।
कांग्रेस पुँजीवादी र एमालेले समाजवादी विचारधारा बीचमा प्रतिस्पर्धा हुने गरेको भन्दै नेता ज्ञवालीले अन्य सबै दलहरू त्यसकै वरिपरि घुमिरहेको बताए।
देशको विकासका लागि राजनीतिक स्थिरता र शान्ति आवश्यक पर्ने भन्दै उनले राजनीतिक स्थितरका लागि एमालेले विचार मिल्नेहरूसँग नयाँ गठबन्धनमा जाने निर्णय गरेको चर्चा गरे। यसअघि कांग्रेस र माओवादीको गठबन्धन फरक विचारधारा बोक्ने दलहरू बीचको अप्राकृतिक गठबन्धन रहेको हुँदा त्यो भत्कनु स्वाभाविक भएको टिप्पणी गरे।
मुलुकमा राजनीतिक क्रान्ति भएर मात्रै नपुग्ने भन्दै उनले आर्थिक, सामाजिक क्रान्ति आवश्यक पर्ने र त्यसको मूल उद्देश्य संमृद्धि हुनुपर्ने बताए ।
‘अब एमाले पनि सरकारमा सहभागी भएको छ र अब कुरा मात्रै हैन काम गरी परिणाम देखाउन आवश्यक छ,’ उनले भने, ‘परिणाम देखाउन नसके नयाँ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने खतरा रहन्छ।’
त्यस्तै, उनले गठबन्धन दलहरूमा तीन नेताले १५/१५ महिना सरकारको नेतृत्व गर्नेबारे पार्टीमा कुनै छलफल नभएको जानकारी दिए। नेता ज्ञवालीले पार्टीमा आधिकारिक रूपमा त्यस्तो छलफल भइनसकेको बताए।
‘अब तीन नेताले १५/१५ महिना प्रधानमन्त्री हुने भन्नेबारे पार्टीभित्र कुनै छलफल भएको छैन,’ उनले भने, ‘यदि त्यो कुरा शीर्ष नेताका बीचमा मात्रै भए पनि पार्टीभित्र कुरा आउँथ्यो होला।’
नयाँ गठबन्धन बनेसँगै सबै प्रदेशहरूमा सरकार परिवर्तन हुने उनले बताए।
‘अब सबै प्रदेशमा गठबन्धन बाहेकको नेतृत्व भए अवश्य परिवर्तन हुनेछ,’ उनले भने, ‘त्यसका लागि बहुमत जुटाउँदै अगाडि बढ्ने भन्ने कुरा भएको छ।’
लुम्बिनी प्रदेशमा अबको नेतृत्व एमाले वा माओवादी कसले पाउँछ? भन्ने सवालमा भने उनले त्यसबारे अझै टुंगो लागिनसकेको बताए।