प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा आशा जगाउने नयाँपन नरहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा भाग लिँदै उनले पुरातन शैलीमा नै बजेट बनाउने सिद्धान्त सरकारले बोकेको बताए।
उनले कुनै एउटा मात्रै क्षेत्रमा सरकारले 'बिग र बोल्ड' निर्णय गर्छ भन्ने आधार नरहेको बताए। सिद्धान्त र प्राथमिकताले तत्काल भएका सुधार, अर्थतन्त्रका चुनौति र भावी कार्यदिशाका सन्दर्भमा संक्षिप्त केही मात्र तथ्य उल्लेख गरेको उनको भनाइ छ।
सार्वजनिक खर्च नियन्त्रण, उत्पादन वृद्धिमा टेवा, दोहोरो संरचना खारेज गर्ने, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, पूर्वतयारी नपुगेको योजनामा बजेट विनियोजन नगर्ने, राजश्व परिचालन, क्षमता वृद्धि गर्ने जस्ता महत्वपूर्ण प्रतिबद्धता पनि सिद्धान्त र प्राथिमकतामा राखिएको उनले बताए।
अर्थमन्त्री फेरिएकै कारणले यि विषयहरु नफेरिने विश्वास आफ्नो रहेको उनले बताए।
‘सिद्धान्त र प्राथमिकताले तत्काल भएका सुधार, अर्थतन्त्रका चुनौति र भावी कार्यदिशाका सन्दर्भमा संक्षिप्त केही मात्र तथ्यहरु यसभित्र उल्लेख भएको देखिन्छ। सार्वजनिक खर्च नियन्त्रण, उत्पादन वृद्धिमा टेवा, दोहोरो संरचना खारेज गर्ने, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, पूर्वतयारी नपुगेको योजनामा बजेट विनियोजन नगर्ने, राजश्व परिचालन, क्षमता वृद्धि गर्ने जस्ता महत्वपूर्ण प्रतिबद्धता पनि यहाँभित्र राखिएको छ । यसले आगामी आर्थिक वर्षको बजेट कस्तो बनाउने भन्ने सन्दर्भमा केही विषयहरु उल्लेख भएका छन्। तर मन्त्री फेरिएकै कारणले यि विषयहरु फेरिने छैनन् भन्ने मेरो विश्वास छ,’ उनले भने।
सरकारको खर्चतर्फ सिर्जित दायित्व भुक्तानी तथा स्रोत सुनिश्चित गर्न नसकेको, ठूला आयोजना समयमा बन्न नसकेको, विभिन्न निकायबीचमा दोहोरोपन देखिएको, राजश्व लक्ष्यअनुरुप उठाउन नसकेकोजस्ता विषयलाई बजेटका सिद्धान्त र प्राथमिकताले स्वीकार गरेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)