नेकपा (एमाले) का सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनर्लेखन गर्न सुझाव दिएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उनले अर्थमन्त्री वर्षमान पुनलाई बजेटका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न सुझाव दिएका हुन्।
उनले अघिल्ला अर्थमन्त्रीले संसदमा पेस गरेको बजेटका सिद्धान्त र प्राथामिकतलाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नु परेको पनि बताए।
बजेटका सिद्धान्त र प्राथमिकतलाई देशका समस्या समाधान हुने गरी परिवर्तन गर्न अर्थमन्त्रीलाई पौडेलले सुझाव दिएका छन्।
पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्ने नसक्ने दाबी गरेका थिए।
बजेटको सिद्धान्त र प्राथामिकतामा सिद्धान्त र प्राथमिकता दुवै नभेटिएको भन्दै 'पेपर पोलुसन' गर्ने काम मात्रै भएको उनले बताए।
‘आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने अर्थमन्त्री बाहिरिनुभएको छ। नयाँ अर्थमन्त्री आउनुभएको छ। बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सामान्यतया प्रस्तुतकर्ता फेरिएपछि सिद्धान्त र प्राथमिकता फिर्ता लिएर अर्को प्रस्तुत गर्न पाएको भए राम्रो हुने थियो,’ उनले भने।
व्यवहारिक जटिलताको कारण छलफल गरिएको भन्दै उनले बजेटका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।
‘पुर्नलिखित बजेटका सिद्धान्त र प्राथमिकता आलोकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुझाव दिन्छु। यो सिद्धान्त र प्राथमिकता समर्थन गर्न लायक छैन,’ उनले भने, ‘आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै सिद्धान्त र प्राथमिकता दुवै छैन। शब्द र वाक्यको भीड मात्रै छ। मुलुकको अर्थतन्त्रका समस्या चिर्न र समाधानको निम्ति मार्गदर्शन गर्दैन।’
प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकतामा कांग्रेसले राखेको धारणाले पुष्टि गरेको पनि बताएका थिए।
(न्युज एजेन्सी नेपाल)