उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पीडितको पक्षमा उभिन जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले किसानका समस्यालाई प्राथमिकता दिन भनेका हुन्।
'साहुमहाजनले गरिबलाई नतर्साऊन्। पीडितको पक्षमा उभिनुस्। पीडितलाई थप पीडा दिने काम नगर्नुस्। किसानका समस्यालाई प्राथमिकता दिनुहोस्। अवैध आयात नियन्त्रण गर्नुहोस्। नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ,' गृहमन्त्रीले निर्देशन दिँदै भनेको उनको सचिवालयले जानकारी दिएको छ।
निर्देशनका क्रममा गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूति गर्ने उनले बताएका थिए। तर देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको उनले बताएका थिए।
'हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं। यस्तो समाज बस्न लायक हुँदैन। सहज रूपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ। अहिलेको अवस्था त्यही हो। यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो,' उनले निर्देशन दिँदै भने।
सरकारले अधिकार दिएका हामीले प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निराशा बढेको उनले बताए।
बेथितिमा रमाउने बानी परेको र समाज कस्तो हुनुपर्छ भन्ने शासन-प्रशासनमा बसेकाले नै बिर्सिएको उनले बताएका थिए।
'मलाई भन्दा तपाईंलाई थाहा छ कहाँ बिग्रिएको र कहाँ सुधार्नुपर्छ भन्ने। तर, खै त बिग्रिएको सुधारेको? अब एकपटक समस्या समाधानको प्रण गरौं। प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईं नै हो। सुधार तपाईंहरूबाटै सुरू गर्नुपर्ने हो। जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ। एक/दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन् तर हामी मौनजस्तै छौं। यो क्रम कहिलेसम्म,' उनले भने।
उनले निर्देशनमा नभइ समूहको सदस्यका रूपमा योजनावद्ध र प्रभावकारी काम गर्न भने।
'समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरू नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो त? मेरोतर्फबाट कानुन पालना गर्ने पूर्ण अधिकार तपाईंहरूसँग छ। त्यसको पूर्ण कार्यान्वयन गर्नुस्। कानुनभन्दा माथि निर्देशन हुन सक्दैन। आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पिनुस्,' उनले भने।
उनले चोटाकोठामा दौडिने काम सरकारमा रहेकाको भएको र सेवाग्राहीको नभएको बताए।
'तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोत दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन। गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन। गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ। म कति दिन रहन्छु थाहा छैन। जति रहन्छु, राम्रो गर्छु। नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन,' उनले भने।
उनले सबैतिर निषेधित क्षेत्र हुनु लोकतन्त्रको भद्दा मजाक भएको बताए। सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउन नहुने पनि बताए।
'अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्। होइन, उनीहरूले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानुनले जे भन्छ, त्यही गर्नुस्। समस्या लिएर आउनेको तत्काल काम गरिदिनुस्। काम नहुने छ भने कारण भनेर बुझाउनुस्। नागरिक समस्या लिएर सिंहदरवार आउनु नपरोस्। समाधान नभएका समस्या चाहिँ तपाईंहरूमार्फत सिंहदरबार आओस्,' उनले भने।
उनले थप भने, 'तर तपाईंको स्वार्थमा उनीहरूबाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरूवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन। अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ, उसलाई चाहिँ कारबाही गर्छु। दण्डहिनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस्।'
उनले ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्ने बताए। नभएमा गम्भीर समीक्षा हुने चेतावनी पनि दिए।
'काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,' उनले भने।
कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ।