प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद कमला पन्तले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आग्रह गरेकी छन्।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उनले सो उद्योग सञ्चालनमा ल्याउन आफैंले गरेको प्रतिबद्धता कहिले पूरा हुन्छ भनी प्रधानमन्त्री दाहाललाई प्रश्न गरेकी छन्।
प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाइ थियो।
उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाइ गर्न नहुने उनले बताइन्।
‘गोरखामा एउटा अत्यन्त गौरब गर्न लायक गोरखकाली रबर उद्योग थियो। २०७१ सालसम्म यसले उत्पादन दिएको थियो। कुन सरकारले कति गर्यो, म त्यतातिर जान्न। तर यो उद्योग किन सञ्चालनमा आएन भन्नेतिर म जाँदैछु। र प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा। प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रबर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो,’ उनले भनिन्, ‘बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्यूलाई मेरो भन्नु केही छैन। तर बोलेको कुरा पूरा गर्ने हो भने अब कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ? त्यसको जवाफ पनि खोजेको छु।’
(न्युज एजेन्सी नेपाल)