प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भयो।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जबाफ दिनुपर्ने अडान राखेको छ।
बजेटसम्बन्धी छलफललाई अवरोध नगर्ने बताएको कांग्रेसले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधित विधेयक पेस गर्न नदिने पनि उल्लेख गरेको छ।
गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले त्यसबारे प्रधानमन्त्रीबाट जबाफ आउनुपर्ने कांग्रेसको भनाइ छ।
‘प्रधानमन्त्रीको जबाफ नआउँदासम्म उपप्रधान एवं गृहमन्त्रीजीको कार्यसूची राखिएको छ हामी त्यसमा प्रवेश गर्न सक्दैनौं र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई हामी अवरोध गर्दैनौं,’ प्रमुख सचेतक रमेश लेखकले भने।
साथै कांग्रेसले अनुसन्धानको घेराभित्र परेको मन्त्री पदमा बसिराख्न नहुने पनि बताएको छ।
‘कुनै पनि मन्त्री अनुसन्धान दायराभित्र परेको छ र राज्य त्यस ढंगले अघि बढ्नुपर्ने स्थिति छ भने त्यस्तो मन्त्रीलाई आफ्नो पदमा बसिराख्ने हक हुँदैन भन्ने स्थापित भइसकेको छ,’ लेखकले भने, ‘यो हिजो प्रतिपक्ष (एमालेलगायत) ले स्थापित गरेको हो, प्रधानमन्त्रीले त्यस्ता मन्त्रीलाई हटाएर आएको भन्नु भएको थियो।’