नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहेका अर्थमन्त्री वर्षमान पुनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।
अर्थमन्त्री पुनले कुनै पनि अभियोग पुष्टि नभई कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क गरेका हुन्।
गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै कांग्रेसले शुक्रबारको प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको थियो।
संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भए पनि त्यसैलाई लिएर कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताए।
उनले संयमताका साथ सदन सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि कांग्रेसलाई आग्रह गरेका थिए।
‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन। किनभने कुनै उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको वा यस्तै खालको विषय होइन। राजनीतिक रुपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ,’ उनले भने, ‘यदाकदा म माथि पनि भएको छ। गृहमन्त्रीलाई आक्रमण हो, हेर्ने नजरचाहिँ अर्थमन्त्रीलाई हो भनिन्छ। त्यसो गर्नु हुँदैन। यो राजनीतिमा सामान्य परिवर्तन भइरहन्छ। समीकरण परिवर्तन भइराख्छ। जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक नै भूमिका गर्नुपर्छ भन्ने मेरो अनुरोध छ।’
(न्युज एजेन्सी नेपाल)