प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन्।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रूपमा आयोजनामा प्रचण्डले उक्त घोषणा गरेका हुन्।
‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्धितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ उनले भने, ‘मेरो जन्म भएको कास्कीलाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा गर्व र हर्षको महसुस भएको छ।’
पर्यटनको राजधानी घोषणा पश्चात पोखराको मात्रै नभएर गण्डकी प्रदेश र सिंगो देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको उनले बताए।
पोखरा सम्भावनाले भरिएको सहर भएको भन्दै उनले यहाँका नदीनाला, तालतलैया, गल्छीहरू, छाँगा र हिमश्रृङ्खलाले सहरको सुन्दरतालाई अनुपम बनाएको प्रचण्डले बताए। विविधतालाई एकै ठाउँमा संकेन्द्रित गरी व्यवस्थित प्रचारप्रसारको माध्यमबाट पर्यटन प्रवर्द्धनमा गुणात्मक नतिजा हासिल गर्न सकिने भन्दै उनले यस घोषणाले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ‘ब्राण्डिङ’ गर्ने उनले बताए।
‘पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित अभ्यासलाई मध्यनजर गरी पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले विश्वको पर्यटन बजारमा पोखराको ब्राण्डिङ गर्ने, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जिवनस्तरमा गुणात्मक अभिवृद्धी गर्नेछ,’ उनले भने।
पर्यटकीय राजधानी घोषणा पश्चात आवश्यक कानुनी, प्रक्रियागत सुधार र रणनीतिक योजनासहित पर्यटकीय पूर्वाधार बनाउन गण्डकी सरकार र पोखरा महानगरले सहकार्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको धारणा छ। निजी क्षेत्रको सेवामा गुणस्तर वृद्धी र क्षमता विकास आवश्यक रहेको भन्दै उनले सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
भौतिक विकासलाई मात्र विकास मान्न नहुने भन्दै उनले मानवीय विकासलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिए।
‘भौतिक विकास र मानवीय विकास सँगसँगै अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘भौतिक विकासलाई मात्र विकास मान्ने र मानवीय विकासको पक्षलाई केही ठाउँमा अवमूल्यन गर्ने र सिमान्तकृत व्यक्तिको अभिभावकत्व ग्रहण नगर्ने पनि कतिपय ठाउँमा देखिएको छ।’
तालैतालको सहर पोखराको जैविक विविधता र सांस्कृतिक धरोहरको संरक्षण एवं प्रवर्द्धनमा पनि भूमिका खेल्न उनले आह्वान गरे।
संघीय सरकारका तर्फबाट पोखराको पर्यटकीय पूर्वाधार निर्माणमा अभिभावकीय भूमिका खेल्ने पनि उनले विश्वास दिलाए।
घोषणा सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराका व्यवसाय २४ घण्टा खुलाउने बताए। पर्यतटकीय पूर्वाधार बनाउन सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएको भन्दै संघीय सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे।
पोखरा महानगरका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणा पश्चात व्यवसायीमा उत्साह थपिने विश्वास लिए।
‘पर्यटनको राजधानी घोषणा पश्चात पर्यटन प्रवर्द्धनमा पोखराले उच्च प्राथमिकता पाउनेछ, पोखराको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्नेछ,’ उनले भने, ‘अब पोखरामा आन्तरिक र बाह्य लागानीको अनुकूल वातावरण बन्नेछ, दुरगामी नतिजा प्राप्त हुनेछ।’