राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतका विषयमा हल्का टिप्पणी गर्दा न्यायालय कमजोर हुने र त्यसले समग्र राज्य व्यवस्थामै असर पार्ने बताए।
‘यो देशमा अदालत पनि कमजोर हुने, प्रहरी पनि कमजोर हुने, सुरक्षा निकायहरू पनि कमजोर हुने, निजी क्षेत्र पनि कमजोर हुने, वैदेशिक सम्बन्धहरू पनि कमजोर हुने, पेशागत संगठनहरू कमजोर हुने, प्रेस पनि कमजोर हुने र भएभरका संस्थाहरू कमजोर हुने हो भने यो देश कमजोर हुन्छ,’ उनले भने, ‘लोकतन्त्र कमजोर हुन्छ।’
सभापति लामिछानेले कमजोर लोकतन्त्रले ठूला कुरा गर्न सक्ने भए पनि काम गर्न नसक्ने बताए। लोकतन्त्रका आधारस्तम्भलाई कमजोर बनाउने गतिविधि र निर्णयप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।
उनले राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए। विशेषगरी प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बलियो बनाएर अनुसन्धानमा राजनीतिक वा अन्य कुनै हस्तक्षेप हुन नहुने उनले बताए।
‘थुन्ने र सुन्ने कुरा होइन, पहिला सुन्नुपर्छ र सुनिसकेपछि अनुसन्धान राम्रोसँग गरिसकेपछि कुनै भ्रष्टलाई पक्राउ गर्दा अनुसन्धान यति बलियो होस् कि त्यो अदालतबाट फर्केर घर होइन, जेल जाओस्,’ उनले भने।
उनले चुनावका बेला रास्वपाले भ्रष्टाचारीलाई जेल हाल्ने प्रतिबद्धता गरेको तर विधिको शासन र कानुनी प्रक्रियामार्फत अनुसन्धान गर्ने भनिएको बताए।
‘हामीले चुनावमा भनेका छौँ, यी सबैलाई जेल कोचौँ भन्या हौँ हामीले। बिल्कुल भनेका हौँ। यसको अर्थ यो होइन कि जसलाई जहाँ जहाँ भेट्यो, जोसँग जसको अनुहार मन परेन, त्यसलाई समात्यो, जेल हाल्छु भनेको होइन,’ उनले भने, ‘हामी विधिको शासनको माध्यमबाट, कानुनी राज्यको स्थापना गरेर, अनुसन्धानका माध्यमबाट बेथितिको अन्त्य गर्छौँ।’
लामिछानेले भ्रष्टाचारीमा राज्यको त्रास र सर्वसाधारणमा आस हुनुपर्ने बताए।
‘जनतामै त्रास पैदा हुने अवस्था भने सही बाटो हुँदैन,’ उनले भने।
आफू पार्टी सञ्चालन र सरकारका गतिविधिलाई सहज रूपमा अघि बढाउन तथा आवश्यक परेका बेला सल्लाह दिन जिम्मेवारीमा बसेको उनले बताए।
पार्टीले सरकारलाई नागरिकको सेवामा काम गर्न कुनै बाधा-अड्चन सिर्जना नगर्ने पनि उनले स्पष्ट पारे।