मधेस प्रदेशमा एमालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्।
मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक मन्त्री थिए।
एमालेलाई चार वटा मन्त्रालय दिएर प्रदेश सरकारमा सामेल गर्न लागिएको प्रदेश सरकारका एक मन्त्रीले बताए। यद्यपि आज एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मात्रै मन्त्री नियुक्त गरिएको छ।
उनलाई आजै बेलुकी भौतिक पूर्वाधार विकासमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ खुवाइने मुख्यमन्त्री निकट एक नेताले बताए।
नेताहरूका अनुसार दोस्रो चरणमा सांसद राजकुमार लेखी, शारदा देवी र सत्रुधन प्रसाद सिंहलाई मन्त्री बनाउने तयारी छ।
लेखीलाई गृह तथा सञ्चार, सिंहलाई शिक्षा तथा संस्कृति र थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी गरिएको हो।
चारै जनालाई आजै सपथ गराउने बिहान तयारी गरिए पनि विविध कारणले यादवलाई मात्रै आज शपथ गराउन लागिएको एक सांसदले बताए।
‘अरू दलहरूसँग भागबण्डामा कुरा मिलेको छैन। त्यसैले आजै राति शपथका लागि बोलाउने हो कि भोलि/पर्सी अहिले भन्न सकिन्न,’ ती सांसदले भने। यद्यपि लोसपाका मन्त्रीहरूलाई तत्काल नहटाउने कुरा भएको एमाले सांसद राजकुमार लेखीले बताए।
‘लोसपालाई संघीय सरकारमा पनि सामेल गराउने प्रयास हुँदैछ। लोसपाका मन्त्रीले उपेन्द्र यादवलाई भेटेर मलाई पदबाट नहटाउनुस् अर्को चुनाव तपाईंकै पार्टीबाट लड्छु पनि भनेका छन् त्यसैले उसलाई तत्काल सरकारबाट नहटाउने कुरा चलेको छ,’ प्रदेश सरकारका अर्का मन्त्रीले भने।
अघिल्लो गठबन्धनको सरकारमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मोहम्मद समिम गृह सञ्चार तथा कानुन मन्त्री छन्। मुख्यमन्त्री यादवले उनीहरूलाई मौखिक रूपमा राजीनामा दिन आग्रह गरेका थिए। यद्यपि उनीहरूले राजीनामा दिन मानेका छैनन्।
‘हामीलाई केही अप्ठयारो छैन। मलाई व्यक्तिगत रूपमा राजीनामा गर्न मुख्यमन्त्रीले भन्नुभएको छैन। किन राजीनामा दिने? मुख्यमन्त्रीलाई हटाउने अधिकार छ हटाइदियोस न,’ गृह तथा सञ्चारमन्त्री समिमले भने।
अहिले जसपाका मुख्यमन्त्री र दुई मन्त्री छन्। त्यस्तै लोसपा र माओवादीका एक मन्त्री छन्। एकीकृत समाजवादीका एक मन्त्री छन्।