उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सेनामा भर्ति भएका नेपालीहरू फर्किन चाहे उनीहरूसँगको करार सम्झौता रद्द गर्न रूस तयार रहेको बताएका छन्।
रूसी सेनामा भर्ति भएका नेपालीहरूलाई स्वेदश फर्काउन भइरहेको तयारीबारे सोमबार प्रतिनिधि सभालाई जानकारी गराउँदै मन्त्री श्रेष्ठले यसमा रूसले सैद्धान्तिक सहमति दिइसकेको बताएका हुन्।
‘रूसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपाली नेपाली नागरिकहरूमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,’ संसदमा मन्त्री श्रेष्ठले भने।
तर त्यसको मोडालिटी तयार हुन बाँकी रहेको यसबारेमा मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
रूसी सेनामा भर्ती भएर ज्यान गुमाएका नेपालीहरूको बारेमा औपचारिक रूपमा जानकारी भएपछि नेपाल सरकारले रुसी सरकार समक्ष लिखित र मौखिक रूपमा विभिन्न प्रस्ताव गरेको मन्त्री श्रेष्ठले जानकारी दिए।
'रूसी सेनामा भर्ना भइ निधन भएका नेपाली नागरिकहरूको शव नेपाल पठाउने, घाइते तथा मृत्यु भएका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, रूसी सेनामा भर्ना भएका नेपालीको संख्या , घाइते नेपालीको संख्या र उनीहरूको अवस्थाबारे जानकारी माग गर्ने, नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना भएका नेपाली नागरिकहरूलाई तत्काल नेपाल फर्काउने, युक्रेनमा युद्धबन्दी भएका नेपाली नागरिकहरू शिघ्र रिहाईका लागि पहल गर्ने अडानहरू स्पष्ट रूपमा राखेका छौं,' मन्त्री श्रेष्ठले भने।
उनले आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रूसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेको र नेपालस्थित रूसी राजदूतसँग पनि भेटवार्ता गरी ती विषयहरुमा जानकारी गराएको उनले बताए।
'नेपालीहरूलाई रूसी सेनामा भर्ती नलिन, जससँग सम्झौता गरिएको छ, सम्झौता खारेज गरी नेपाल फर्काउन, शव नेपाल पठाएर यहाँकै रितिरिवाजअनुसार अन्तिम संस्कार गर्न दिन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन लगायतका मुद्दाहरूमा जोडदार रूपमा अनुरोध गरेको छु,' उनले भने।
यसअघिका परराष्ट्र मन्त्रीले पनि रूसी सेनामा रहेका नेपालीहरूलाई फर्काउन पहल भएको उनले बताए।
'मस्कोस्थित नेपाली दूतावासले पटकपटक रूसी विदेश मन्त्रालयका समकक्षीसँग पटकपटक भेटवार्ता गरी यी विषयहरू प्रस्तुत गर्नुभएको छ। बर्लिनस्थित नेपाली राजदूतावासले बर्लिनस्थित युक्रेनी दूतावाससँग युक्रेनी सेनाले बन्दी बनाएका रूसी सेनामा कार्यरत नेपाली सेनामा कार्यरत नेपाली नागरिकको रिहाईका विषयमा कुराकानी गर्नुभएको छ,' उनले भने।
मन्त्री श्रेष्ठले विभिन्न पहलबाट अहिलेसम्म भएका प्रगतीबारे पनि सदनलाई जानकारी गराएका छन्।
उनका अनुसार रूस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवम् बीमावापतको रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरेको छ। त्यसका लागि उपयुक्त बैंकिङ माध्यम निर्धारण गरी क्षतिपूर्ति रकम एवम् बीमा रकम नेपाली राजदूतावासको खातामा कन्सुलर सेवा विभागमार्फत पीडित परिवारलाई उपलब्ध हुने व्यवस्था गरिने उनले बताए।
त्यस्तै युक्रेनमा बन्दी भएका प्रिजनर्स अफ वारका बारेमा मन्त्रालय गम्भीर ढंगले उनीहरूलाई फिर्ता ल्याउने प्रक्रियामा लागेको मन्त्री श्रेष्ठले बताए।
'उहाँहरूको नाम पहिला नै सार्वजनिक भइसकेका छन्। हिजोमात्रै फेरि सार्वजनिक भएको छ,' उनले भने, 'उहाँहरूलाई यथाशिघ्र नेपाल फर्काउन मन्त्रालय उच्च प्राथमिकताका साथ मन्त्रालय क्रियाशील छ। रूसी सेना र युक्रेनमा रहेका नेपालीहरूको सन्दर्भमा नेपाल सरकार सम्पूर्ण रूपले यो समस्यालाई नेपाली नागरिकको पक्षमा हुनेगरी समाधान गर्न दृढ संकल्पका साथ अगाडि बढिरहेको छ।'