सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा बसेको छ।
मंगलबार बिहान बसेको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेकोलगायत विषयमाथि छलफल भएको छ।
बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए। तर बैठक बिनानिष्कर्ष सकिएको छ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष महरा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भएको बताए।
‘उपाध्यक्ष महराका बारेमा हरेक पाटा र पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गर्यौं। छलफल जारी छ। छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ,’ सापकोटाले भने, ‘आज सदनमा प्रधानमन्त्रीज्यूले जबाफ दिनुपर्ने कारणले गर्दा बैठक सकियो। छलफल गरी छिट्टै निष्कर्षमा पुग्छौं।’
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उनले जानकारी दिए।
महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।