प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दीपक गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका गिरीले सहकारी प्रकरणमा लामिछाने जोडिएकोले राजीनामाको विकल्प नभएको बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई स्वार्थको द्वन्द्व हुने गरी किन लामिछानेलाई गृहमन्त्री बनाइएको हो भन्ने प्रश्न पनि गरेका छन्।
‘स्वार्थको द्वन्द्व हुने रवि लामिछानेलाई गृहमन्त्री किन नियुक्त गर्नुभयो?,’ उनले प्रश्न गरे। उनले सहकारी प्रकरणमा दिपेश पुन पक्राउ परे पनि गृहमन्त्री भने किन पक्राउ नपरेको भन्ने प्रश्न पनि गरेका छन्।
‘सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने र दिपेश पुनसहितलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको थियो। दिपेश पुन गिरफ्तार भए तर लामिछाने गृहमन्त्री हुनुहुन्छ, जसरी पनि गृह नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ। तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौं,’ उनले भने।
यो प्रकरणमा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन अघि बढाउन निर्देशन पनि दिएको उनले बताए।
‘उहाँ (रवि लामिछाने) जस्तो निस्कलंक भन्ने व्यक्तित्वले दोहोरो नागरिकताको विषयमा महान्याधीवक्ता कार्यालयले रोक्यो। उहाँजस्तो मान्छेले भन्न सक्नुपर्थ्यो- यसलाई सरकारले रोक्नु पर्दैन भनेर,’ उनले भने, ‘अरू कुनै टालटुलले हुनेवाला छैन, एउटै विकल्प राजीनामा हो।’