नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न उठेमा उच्चस्तरीय छानबिन समिति गठन गरेर निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने बताएका छन्।
प्राज्ञिक विमर्श समूहले कीर्तिपुरमा मंगलबार गरेको कार्यक्रममा बोल्दै महरले सार्वजनिक ओहदामा रहेका व्यक्ति वा संस्थामाथि नैतिक प्रश्न उठे छानबिन गरिनुपर्ने बताएका हुन्।
'२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिक रूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन गरी कारबाही सिफारिस गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,' उनले भने।
संसदमा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको त्यसबारे ध्यान दिन नसकेको उनले बताए।
नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनको भनाइ छ।
'नैतिकता हराएकै कारण नेपाललाई जुन ठाउँमा पुर्याउन सकिन्थ्यो, त्यहाँ पुगाउन सकेका छैनौं। युवाहरूले यही देशमा भविश्य देख्नुपर्थ्यो। राजनीतिक दलका नेता इमान्दर हुनुपर्थ्यो। कर्मचारी इमान्दार हुनुपर्थ्योऽ त्यो कम भएको देखिनु भनेको नैतिकता ह्रास हुँदै जानु हो,' उनले भने।
नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको उनी बताउँछन्।
नैतिक भ्रष्टीकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनले बताए।
'कानुन र नैतिकता अलि फरक हुन्। कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ। नैतिकता भनेको उसले पालना गर्ने आचरण हो। तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हु्न्छ,' महरले भने।
उनले अहिलेको सरकारमा विभिन्न विवाद र अनुसन्धान दायरामा रहेका व्यक्तिहरू मन्त्री रहेकोले यसले राजनीतिक नैतिकता नदेखाउने पनि बताए।