राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामा बोल्न रोष्टममा पुग्दा बुधबार दिउँसो प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुन थिएनन्।
बोल्नका लागि १० मिनेट समय पाएकी लामा रोष्टममा पुगेपछि अर्थमन्त्री पुनलाई खोजिन्।
‘सभामुख महोदय, यहाँ मैले अर्थमन्त्रीज्यू देखिनँ। उहाँ निस्कनुभयो। अर्थमन्त्री नहुँदाखेरि कसलाई सुनाउने होला?,’ उनले प्रश्न गरिन्, ‘अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो। अर्थमन्त्री नहुँदा म कसलाई सुनाऊँ?’
यसपछि उपसभामुख इन्दिरा राना बोलिन्, ‘अर्थमन्त्रीज्यूले अर्को प्रतिनिधि राखेर खाना खान भर्खरै निस्कनुभएको छ। खाना खाएर उहाँ आउँदै हुनुहुन्छ।’
यसपछि सांसद लामा बोलिन्। ‘जब राप्रपा आउँदा अर्थमन्त्री उठेर जानु भनेको एउटा विभेद जस्तो लाग्यो। आपत्ति जनाउँछु, अर्थमन्त्री चाहियो।’
यसपछि उपसभामुख रानाले सांसद लामालाई बोल्दै जान र समय अलि धेरै दिने बताइन्।
लामाले प्रतिप्रश्न गरिन्- १० मिनेट छ, त्यो बेलासम्म पनि अर्थमन्त्रीज्यू आउनु भएन भने सदस्यहरूलाई मात्रै सुनाउने?
लामालाई पछि समय दिने भन्दै जसपा सांसद प्रदीप यादवलाई बोल्न समय दिइयो। त्यही बेला प्रतिनिधि सभा बैठक कक्षमा अर्थमन्त्री पुन आइपुगे।
उपसभामुख रानाले सांसद लामालाई नै बोल्न समय दिइन्।
‘अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, आउनुभयो। नत्र लागेको थियो- राप्रपा आउँदा अर्थमन्त्रीज्यू भाग्नुभयो भनेर,’ उनले भनिन्।
प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे दलगत रूपमा सांसदहरूले धारणा राखिरहेका छन्।