नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पार्टी दस प्रतिशतमा खुम्चिएको बताएका छन्।
पार्टी काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दसवटा निर्वाचन क्षेत्रमध्ये एमालेले मुस्किकले एउटा जित्न सकेको बताएका हुन्।
‘गएको निर्वाचनमा दसवटा निर्वाचन क्षेत्रमध्ये एउटामा हामीले मुस्किलले जित्यौं। यस स्थितिलाई अनिवार्यरूपले बदल्नु छ। बदल्नैपर्छ। नेकपा (एमाले) का लागि काठमाडौंमा यस्तो खालको पराजय कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन। एमालेको महान उद्देश्य, स्पष्ट विचारका निम्ति, एमालेले गरेका कामका निम्ति, गर्छु भन्ने प्रतिबद्धता मात्र होइन, अब त, एमालेले कामै गरेर देखाएको छ। कामै गरेर देखाएको हिसाबले पनि एमालेको जुन परिणाम आएको छ त्यो सन्तोषजनक नभएको मात्र होइन, पीडादायी छ,’ उनले भने।
उनले यस अवस्थालाई बदल्नै पर्ने बताए। आगामी निर्वाचनमा शत प्रतिशत नभए पनि ९० प्रतिशत जित्नुपर्ने उनको भनाइ छ।
‘शतप्रतिशत भएन भने ९० प्रतिशत त पुर्याउनु त पर्यो नि,’ उनले भने, ‘प्रदेशमा पहिले हामी एक्लै हामी बहुमतमा थियौं। त्यस बहुमतको स्थिति गिराउनका लागि पार्टी फुटाउनुपरेको थियो। अहिले यतिकै कमजोर भएका छौं। अवस्था बदल्न संकल्न गर्नैपर्ने अवस्था आएको छ,’ उनले भने।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये एमालेले एक स्थान जितेको थियो। काठमाडौं–९ मा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४, ६, ७, ९ मा एक–एक सिट गरी चार स्थान जितेको थियो।