रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषदमा कुरा राख्ने बताएका छन्।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
मुख्यसचिव डा. बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रिपरिषदमा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आगामी मन्त्रिपरिषद्को बैठकमा यस बारेमा कुरा उठाउने बताएका हुन्।
उनले भने, ‘मन्त्रिपरिषदमा यो विषयमा म कुरा राख्छु। अहिले यो विषयमा छलफल भएको छैन। कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन। आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु।’
मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामान खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ। —न्युज एजेन्सी नेपाल