जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्।
जसपा अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएको सेतोपाटीलाई बताए।
सोमबार राज्यमन्त्री नियुक्त भएका कार्कीले अपराह्न ३ बजे शपथ लिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिने तयारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राज्यमन्त्री कार्कीलाई शपथ खुवाउनेछन्।
कार्की धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
जसपा अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने जसपाबाटै सांसद नवलकिशोर साह सुडी वन मन्त्री छन्।
* यसअघि जसपा प्रमुख सचेतक र जसपा प्रचार विभागले दिएको जानकारीअनुसार स्वास्थ्य राज्यमन्त्री लेखिएकोमा सच्याइएको छ। (सम्पादक)