नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई इमान्दार र योग्य मानिसहरू चाहिएको बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित 'नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी' विषयक गोष्ठीमा बोल्दै उनले राजनीतिमा विस्तारै छट्टुहरू हाबी हुन थालेको बताए।
‘कांग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति पर्यत्न गर्ने मानिसहरू बढी चाहिएको छ,’ महामन्त्री थापाले भने, ‘राजनीति विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले। छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछ, यसो रंगरोगन गर्छ र जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन।’
पार्टीलाई धैर्यता, गति र मति भएको मानिसहरू आवश्यक परेको थापाले बताए।
‘गति छ मति छैन, मति छ गति छैन। हामीलाई त गति र मति दुवै चाहियो,’ महामन्त्री थापाले भने, ‘हामीले यो बेलामा मति पनि ठिक राख्नु पर्नेछ। हामीले आफ्नो घरभित्रको फोहोर पनि सफा गर्नु पर्नेछ। हाम्रो घरभित्र फोहोर छ कार्पेटमुनि राखेर हुँदैन, सफा बनाउनैपर्छ। मति बिग्रेको छ, पवित्र बनाउनैपर्छ।’
कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने उनले बताए। जनताले लामो समयदेखि धैर्यता राखिरहेको उनले बताएका छन्।
‘बाहिरको समाजको गति कति अघि बढेको छ। आफ्नै जीवनकालमा केही कुरा बदलाव आओस् भन्ने चाहेको छ। चाँडोभन्दा चाँडो परिवर्तन आओस् भन्ने खासगरी नौजवानभित्र छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले त्यसको दुरूपयोग गर्ने भए।’
चेतनाको राजनीति गर्नेहरूले लय पक्रनुपर्ने उनले बताए। उनले रूपान्तरका लागि प्रयास गरिनुपर्ने बताए। राजनीति गर्नेहरूलाई मलाई सबैकुरा थाहा छैन भन्ने ख्याल गर्नुपर्ने पनि थापा बताउँछन्।
‘आजभोलि त राजनीति गर्ने ठाउँमा जतासुकै भगवान् छन्,’ उनले भने, ‘मलाई सबै कुरा थाहा छैन भन्ने नवीन्द्रराज जोशीलाई थाहा थियो र थाहा पाएका मानिससँग संगत गर्नुहुन्थ्यो।’