राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्।
रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम छ।
लिम्बू र अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन्। यद्यपि नाम सार्वजनिक गरिएको छैन।
‘प्राइमरी इलेक्सनको घोषणा गरेर उम्मेदवारी दर्ता गराएकाले यसको प्रक्रिया पुर्याउनुपर्ने हुन्छ,’ एक नेताले सेतोपाटीसँग भने, ‘तर हाम्रो उम्मेदवार मिलन लिम्बू नै हो।’
उम्मेदवार घोषणाका लागि चैत १६ गते पार्टी सभापति लामिछाने इलाम जाँदैछन्।
पत्रकारिता पृष्ठभूमिका लिम्बू माओवादी केन्द्रका कार्यकर्तासमेत थिए।
तर उनले माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए।
त्यसपछि उनीसँग संवाद भएको र पार्टीले उम्मेदवार बनाउने तयारी गरेको रास्वपाका एक नेताले बताए।
उपनिर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य नहुने देखिएको छ। अहिलेसम्म नेकपा (एमाले) र रास्वपाको छुट्टाछुट्टै उम्मेदवार हुने देखिएको ती दलका नेताहरू बताउँछन्।
रास्वपाले इलाम क्षेत्र नम्बर २ को अवस्था र पार्टीको स्थिति बुझ्न ६ जना सांसदलाई ६ पालिकामा पठाएको थियो।
रास्वपाका ६ जना सांसदहरू चैत १९ गते इलामका विभिन्न पालिका पुगेर अन्तर्क्रिया गरेका थिए। सोबिता गौतम इलाम नगरपालिका पुगेकी थिइन्। गणेश पराजुली देउमाई नगरपालिका पुगेका थिए भने मनिष झा माई नगरपालिका पुगेर अन्तरक्रिया गरेका थिए।
यस्तै, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका पुगेका थिए।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाममै खटिएका छन्।
एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनी दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन्।
माओवादी केन्द्रले उम्मेदवारबारे छलफल नगरेकाले उसले सुहाङलाई सघाउने सम्भावना रहेको एमालेका नेताहरूको दाबी छ।यद्यपि माओवादी केन्द्र इलामले चार जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ।
एमालेका नेताहरूले एकीकृत समाजवादीले पनि सुहाङलाई सघाउने बताएका छन्। तर, सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे छलफल भए पनि निष्कर्षमा नपुगेको र बझाङ–१ र इलाम–२ मा उम्मेदवारी दिनुपर्ने हुनसक्ने भन्दै तयार रहन पार्टी पंक्तिलाई भनेका थिए।
इलाम क्षेत्र नम्बर २ मा सिके राउत नेतृत्वको जनमत प्रेमदीप थाम्सहाङलाई समर्थन गर्ने भएको छ।
‘पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई पार्टीले समर्थन गरेको’ जनमतका सचिव बिपी साहले सेतोपाटीलाई जानकारी दिए।
‘जनमतको चुनाव चिह्न लिएर उहाँ उठ्नुहुन्छ,’ उनले भने। थाम्सुहाङ किरात–लिम्बुवान प्रदेश नामाङ्कन समितिका अध्यक्ष पनि छन्।
पहिचानवादीकै तर्फबाट डकिन्द्रसिंह थेगिमले पनि उम्मेदवारीको घोषणा गरेका छन्।
इलाम–२ मा यसअघि एमालेले ११४ मतले चुनाव जितेको थियो। इलामबाट निर्वाचित संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि उपचुनाव हुन लागेको हो।
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। यसका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।