गृह सचिव एकनारायण अर्यालले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा निषेधित क्षेत्र तोकिँदा यसका विकल्पबारे गृह मन्त्रालयमा छलफल भइरहेको बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाबारे ब्रिफिङ गर्दै उनले काठमाडौं र ललितपुरमा निषेधित क्षेत्र तोकिँदा आवतजावतमा सहजता पुगेको दाबी गरे।
उनले आवतजावतमा सहजताका लागि आवश्यक देखिएको पनि बताए।
‘स्थानीय प्रशासनले काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा पाँच जनाभन्दा बढी भेला जम्मा हुन पाउने गरी निषेधित क्षेत्र तोकिएको छ। यसको विरोध गर्ने, निषेधित क्षेत्र तोड्ने गतिविधि समेत हुने गरेका छन्। तर शान्ति सुरक्षा कायम राख्न र मानिसहरूको आवतजावत लगायतका गतिविधि प्रभावित हुन नदिन यो आवश्यक देखिएको छ,’ उनले भने, ‘पछिल्लो समयमा यसको विकल्प दिने सन्दर्भमा समेत गृह मन्त्रालयमा छलफल भइरहेको छ।’
समितिमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर लगायत उपस्थित छन्।